२०१६ फर्केर हेर्दा
संसारभर के के भए
सन्
२०१६ विश्वमा एक घटनाप्रधान वर्षका रूपमा चित्रित रह्यो । विश्व राजनीतिक, सामाजिक,
आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने
घटना भए ।यसै वर्ष अमेरिकाले नयाँ राष्ट्रपति चुन्नेदेखि १७ वर्षसम्म विश्व फुटबल
महासंघ (फिफा) मा एकछत्र राज गरेका सेप ब्लाटरलाई विस्थापित गर्दैजियानी
इन्फान्टिनो चुनिए भने ब्राजिल र दक्षिण कोरियाका महिला राष्ट्रपति माथि महाअभियोग
यसै वर्ष लाग्यो ।
सन्
२०१६ मै अमेरिका र क्युबाबीच पाँच दशकभन्दा अघि टुटेको कूटनीतिक सम्बन्ध सकारात्मक
दिशामा अघि मात्रै बढेन लामो समयदेखि अमेरिकाले लगाउँदै आएको आर्थिक नाकाबन्दी
हटाएर क्युबाली झण्डा फहराइयो । उत्तर कोरियाको परमाणु कार्यक्रम, भारत–पाक द्वन्द्व, अमेरिका र जापानका शीर्ष नेताले
दोस्रो विश्वयुद्धका क्रममा एकअर्काले आक्रमण गरेका स्थानमा जनाएको उपस्थिति,
बेलायतको ब्रेक्जिट, फार्क विद्रोहीसँग
कोलम्बिया सरकारले गरेको शान्ति वार्ता, क्युबाली समाजवादी
नेता फिडेल क्यास्ट्रोको निधनलगायत विषय चर्चामा रहे ।
उत्तर कोरियाली वर्कर्स पार्टीको ३६ वर्षपछि
भएको महाधिवेशन पनि महŒवपूर्ण परिघटना हो । सन् २०१६
मै विश्वले ठूला दुर्घटना र सिरियाको हिंसाजस्ता घटनाको सामना गर्नुप¥यो । गत २५ डिसेम्बरमा ९२ जना सवार रसियाली विमान ब्ल्याक सीमा
दुर्घटनाग्रस्त भयो । नोभेम्बर २९ मा ब्राजिलको चापेकोएन्स फुटबल टिमका खेलाडीसहित
८१ जना चढेको विमान कोलम्बियामा दुर्घटनाग्रस्त हुँदा ५ जनाबाहेक सबैको ज्यान गयो
।
मे
१९ मा पेरिसबाट कायरो जाँदै गरेको विमान दुर्घटना हुँदा ६६ जना र मार्चमा फ्लाई
दुबईको विमान रुसको रोस्तोफ–अन–डोनमा अवतरणका
क्रममा दुर्घटना हुँदा ६२ जनाले ज्यान गुमाए । रुसी विमान दुर्घटनामा सन् १९२८ मा
सोभियत संघका समयमा स्थापना भएको सैनिक ब्यान्डका ६४ जना कलाकार समेत मारिएका थिए
।
- दुई अप्रत्याशित मतपरिणाम
सन्
२०१६ मा विश्वमा धेरै देशमा निर्वाचनहरू सम्पन्न भए पनि मुख्य रूपमा अमेरिका र
बेलायतका निर्वाचनले चर्चा बटुले । अमेरिकी राष्ट्रपति पदको निर्वाचन विश्वमै लामो
तथा झन्झटिलो प्रक्रिया भएका कारण यसले चर्चा पाउनु स्वाभाविक थियो । तर, त्यसभन्दा
पनि बढी गैरराजनीतिक पृष्ठभूमिका डोनाल्ड ट्रम्पले अपत्यारिलो रूपमा सुरु गरेको
सानो निर्वाचन अभियानको बढोत्तरीसँगै उनले निर्वाचनको परिणाम नै आफ्नो पक्षमा
पार्न सफल भए । यस्तै, बेलायतमा युरोपेली युनियनमा नै रहने
वा अलग हुने भन्ने विषयमा भएको जनमत संग्रहको परिणाम अप्रत्याशित रूपमा अलग हुने
पक्षमा आयो ।
- बेलायतको ब्रेक्जिट
२३
जुनमा बेलायतमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने या सँगै बस्ने भन्ने विषयमा
भएको जनमत संग्रहमा ईयू छाड्नुपर्ने पक्षमा जनमत आयो । ईयूमा नै रहनुपर्ने पक्षमा
मतपरिणाम आउने पक्षमा ढुक्क देखिएका बेलायतका तत्कालीन प्रधानमन्त्री डेभिड
क्यामरुनको अड्कल गलत साबित भयो भने ब्रेक्जिटको पक्षमा वकालत गर्दै आइरहेका
युरोपेली संसद्का सदस्यसमेत रहेका युके इन्डिपेन्डेन्ट पार्टीका निगेल फारेजले १७
वर्षभन्दा लामो समयदेखि उठाउँदै आएको एजेन्डामा सफल भएका छन् । ईयूबाट
बाहिरिनुपर्ने पक्षमा बेलायतका ५१.८ प्रतिशत जनताले मत हाले भने ईयूमा नै
रहनुपर्ने पक्षमा ४८.२ प्रतिशत मात्रै मत आएपछि नैतिकताका आधारमा प्रधानमन्त्री
क्यामरुनले राजीनामा दिए । उनको राजीनामापछि थेरेसा मे बेलायतको प्रधानमन्त्री
बनिन् । उनी बेलायतको दोस्रो महिला प्रधानमन्त्री पनि हुन् । युरोपेली युनियनबाट
बेलायतको बर्हिगमन हुने निश्चित भएपछि एकातिर ईयू सदस्य राष्ट्र जर्मनी र
फ्रान्सबीच शक्ति सन्तुलनको संघर्ष देखा परेको छ । बेलायतलाई ईयू छाड्ने प्रक्रिया
सुरु गर्न दबाब परेको छ । उसले यसै वर्ष इयू छाड्ने प्रक्रियाको सुरुवात गर्नेछ ।
बेलायत बाहिरिएपछि युरोपेली देशहरूको संगठन ईयूमा २७ राष्ट्र मात्रै बाँकी रहनेछन्
। यद्यपि,
बेलायतलाई यो प्रक्रिया पूरा गर्न कम्तीमा पनि २ वर्ष लाग्नेछ ।
अमेरिकी राष्ट्रपतिको
निर्वाचन
अमेरिकी
राष्ट्रपतिको निर्वाचनमा यसपटक दुईभन्दा बढी उम्मेदवार मैदानमा थिए । तर, मुख्य
चर्चा डेमोक्रेटिक र रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका
हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पको नै भयो । अमेरिकामा न्युयोर्कको सिनेटर हुँदै
राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालमा विदेशन्त्रीको भूमिका निर्वाह गरेकी
हिलारी क्लिन्टनले निर्वाचन जित्ने र पहिलो महिला राष्ट्रपति बन्ने सर्वत्र आँकलन
गरिएको थियो । निर्वाचन अभियानका क्रममा गरिएका हरेक सर्वेक्षणमा पनि हिलारी
ट्रम्पभन्दा धेरै अघि थिइन् । निर्वाचनको मतगणनालाई आधार मान्ने हो भने उनले
सर्वाधिक लोकप्रिय मत पनि प्राप्त गरिन् । तर, इलेक्टोरल
भोटका आधारमा राष्ट्रपति चुनिने अमेरिकामा विपक्षी उम्मेदवार ट्रम्पभन्दा करिब ३०
लाख बढी मत पाउँदा समेत हिलारी राष्ट्रपति बन्न सकिनन् । रिपब्लिकन पार्टीका
डोनाल्ड ट्रम्पले ३ सय ४ इलेक्टोरल भोट पाए भने हिलारीको पक्षमा २ सय २७ इलेक्टोरल
भोट मात्रै आयो । निर्वाचन प्रचारका क्रममा मेक्सिकोको सीमानामा पर्खाल लगाउने,
अमेरिकामा रहेको अवैध आप्रवासीलाई लखेट्ने, चीनसँगको
व्यापार सम्बन्धलगायतका विषयमा ट्रम्पले दिएका अभिव्यक्तिको निर्वाचनअघि र
निर्वाचन परिणामपछि पनि विरोध भयो । तर, उनको ह्वाइट हाउस
प्रवेशको मार्ग रोक्न सम्भव भएन र व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका ट्रम्प
विश्वशक्तिका रूपमा रहेको अमेरिकाको राष्ट्रपति, राष्ट्रप्रमुख
र सेनाको कमान्डर इन–चिफका रूपमा चुनिएका छन् ।
दुई महिला राष्ट्रपतिमाथि
महाअभियोग
वर्ष
सन् २०१६ मा लागेका दुई महाअभियोग पनि चर्चाका विषय बने । यस वर्ष ब्राजिलकी
राष्ट्रपति डिल्मा रुसेफ र दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हेईविरुद्ध
महाअभियोग लगाइएको छ । त्यसमध्ये ब्राजिलकी राष्ट्रपति रुसेफमाथिको महाअभियोग
पारित भएर उनी पदबाट हटिसकेकी छन् भने दक्षिण कोरियाकी राष्ट्रपतिविरुद्धको
महाअभियोगको प्रस्ताव संसद्ले पारित गरिसकेको भए पनि त्यसले पूर्णता पाउन केही समय
लाग्नेछ । सन् २०१७ मा हेई राष्ट्रपतिबाट हट्छिन् या कायम रहन्छिन् भन्ने टुंगो
लाग्नेछ ।
रुसेफमाथिको महाअभियोग
ब्राजिलकी
राष्ट्रपति डिल्मा रुसेफ यो वर्ष महाअभियोगबाट हटाइएकी एक शक्तिशाली महिला हुन् ।
ब्राजिलको वामपन्थी–समावादी नेतृ रुसेफमाथि महाअभियोग लागेपछि उनकै कार्यकालमा उपराष्ट्रपतिको
भूमिका निभाएका र उनीविरुद्ध महाअभियोग लगाउन मुख्य भूमिका खेलका मिसेल टेमर
ब्राजिलको राष्ट्रपति बनेका छन् । रुसेफलाई हटाइएसँगै सबैभन्दा ठूलो ल्याटिन
अमेरिकी देशमा १३ वर्षदेखि रहेको वर्कर्स पार्टीको वाम शासन ढल्यो । ब्राजिली
संसद्मा २२ घन्टासम्म निरन्तर चलेको बहसपछि उनको विपक्षमा ५५ भोट परेको थियो भने
पक्षमा मात्रै २२ भोट परेपछि उनले राष्ट्रपति पदबाट हात धुनुपरेको हो । उनीमाथि
उनकै सरकारमा सामेल दल तथा विपक्षीले बजेट एकाउन्टिङ कानुनको उल्लंघन गरेको र
भ्रष्टाचार गरेको आरोप लगाए, जसलाई विपक्षीको पकड रहेको
संसद्ले पारित गरिदियो । उनी राष्ट्रपतिबाट हटेको केही समयपछि नै टेमर अन्तरिम
राष्ट्रपति र महाअभियोग प्रस्ताव पारित भएपछि पूर्ण रूपमा सन् २०१८ सम्मका लागि
राष्ट्रपति बनेका छन् ।
पार्क गेउन हेईविरुद्ध
महाअभियोग
विपक्षीहरूको
महिनौं लामो प्रदर्शनपछि दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हेईमाथि दक्षिण
कोरियाको संसद्ले महाअभियोगको प्रस्ताव पारित गरेको छ । उनीविरुद्धको महाअभियोगको
प्रस्ताव पारित भएसँगै उनका अधिकार पनि निलम्बित भएका छन् । उनीमाथिको महाअभियोगको
प्रस्ताव पारित भएपछि देशको सर्वोच्च अदालतले महाअभियोगको प्रस्तावमाथि विचार
गर्नेछ र यदि सर्वोच्चले यसलाई सही ठहर गरेको खण्डमा उनी पदबाट हट्नेछिन् भने
अस्वीकृत भएको खण्डमा उनी पुनः पदमा बहाल हुनेछिन् । दक्षिण कोरियाको कानुनअनुसार
संवैधानिक न्यायालयको निर्णय आउन्जेलसम्म प्रधानमन्त्रीले कार्यवाहक राष्ट्रपतिका
रूपमा काम गर्नेछन् ।
भारत–पाक तनाव
सन्
२०१६ दक्षिण एसियाली क्षेत्रका लागि पनि त्यति लाभदायक बन्न सकेन । दक्षिण एसियाका
दुई परम्परागत प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको सम्बन्ध यो वर्ष निकै
खराब अवस्थाबाट गुज्रियो । कतिपय विश्लेषकहरूले भारत–पाक युद्ध
हुने सम्भावना औंल्याएका थिए । तर, युद्ध नै नभए पनि दुई
देशबीचको सम्बन्ध अत्यन्तै कठिन परिस्थितिबाट गुज्रियो । गत जुलाईमा भारत प्रशासित
काश्मीरमा हिजबुल मुजाहिद्धिनका कमान्डर बुरहान बानीको हत्यापछि सुरु भएको
प्रदर्शनले उग्र रूप लिँदा सयौं आन्दोलनकारी मारिए भने भारती सुरक्षा फौजले व्यापक
दमन गर्दा हजारौं घाइते भए । घाइतेमध्ये कतिपयको आँखाको ज्योति नै गुम्न पुग्यो ।
काश्मीरमा भारतीय पक्षले गरेको दमनपछि पाकिस्तानले पनि आफूहरू काश्मीरी जनताको
स्वतन्त्रताको पक्षमा रहेको र काश्मीरको विषय राष्ट्रसंघको समेत अधुरो योजना भएको
भन्दै यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडतोडले उठायो । पाकिस्तानले
काश्मीरी आन्दोलनकारीलाई सहयोग गरेको भन्दै भारत पाकिस्तानमाथि खनिएपछि दुई देशबीच
शीतयुद्धको अवस्था देखा प¥यो । दुई देशबीच चलेको द्वन्द्वका
कारण पाकिस्तानको इस्लामाबादमा कात्तिकमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय
सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुन सकेन । भारत, बंगलादेश,
अफगानिस्तान, श्रीलंकाजस्ता देशले भारत
सँगैसँगै सार्क शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेपछि रोकिएको सार्क शिखर सम्मेलन
अझै अनिश्चित नै छ । त्यस्तै, सोही घटनाक्रमको पृष्ठभूमिमा
पाकिस्तान प्रशासित काश्मीर हुँदै भारत प्रशासित काश्मीरमा हतियारधारी समूहले
गरेको आक्रमणमा २० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच नियन्त्रण रेखा र
अन्तर्राष्ट्रिय सीमामा पटकपटक दोहोरो गोली हानाहानका घटना भए । यसले गर्दा
सुरक्षाकर्मीसहित दुवै पक्षमा दर्जनांै निहत्था जनताले समेत ज्यान गुमाउन पुगे ।
भारत सरकारले काश्मीरी जनताको आन्दोलनलाई आतंकवादी आन्दोलनको संज्ञा दिएर दबाउन
खोज्दाको परिणाम थियो त्यो ।
जापान–अमेरिका
सम्बन्ध
जापान
र अमेरिका दोस्रो विश्वयुद्धका कट्टर दुस्मन राष्ट्र हुन् । जापानी लडाकु विमानले
अमेरिकाको प्रशान्त महासागरीय सबैभन्दा ठूलो सैनिक अड्डा पर्ल हार्बरमा आक्रमण
गरेपछि दोस्रोविश्वयुद्धको रूप लिएको थियो । त्यसअघि युरोपेली क्षेत्रमा सीमित
रहेको दोस्रो विश्वयुद्ध जापानको आक्रमणसँगै एसियासम्म फैलिएको थियो । एसियामा
साम्राज्य विस्तार गरिरहेको जापानले आफूलाई सुपर पावरका रूपमा उभ्याउन र एसियाली
थुप्रै टापुहरूलाई आफूमा मिलाउन सफल भएको थियो । जापानलाई यो कार्यमा जर्मनीले मौन
रूपमा साथ दिइरहेको थियो । दोस्रो विश्वयुद्धका एक प्रमुख नेता रहेका हिटलर पनि
अमेरिकालाई तत्कालै युद्धमा नल्याई पहिले रसियालाई पराजित गरेर अमेरिकामाथि आक्रमण
गरी आफूलाई विश्वकै सुप्रिम नेताका रूपमा उभ्याउन चाहन्थे । तर, जापानको
यो आक्रमणले अमेरिका र बेलायतलाई प्रत्यक्ष रूपमा युद्धका भूमिमा ल्याइदियो ।
जापानले गरेको पर्ल हार्बर आक्रमणमा २४ सयभन्दा बढी अमेरिकी मारिए भने ठूलो
संख्यामा युद्धक पानीजहाजहरू नष्ट भए । यसबाट क्रुद्ध बनेको अमेरिकाले जापानको
हिरोसिमा र नागासाकीमा ६ अगस्ट र ९ अगस्ट १९४५ मा ‘लिटिल
ब्वाई’ र ‘फ्याट म्यान’ नामका दुईवटा परमाणु बम खसाल्दा डेढ लाखभन्दा बढी जापानीको मृत्यु भयो भने
त्यसको एक महिनापछि जापानले आत्मसमर्पण ग¥यो र दोस्रो
विश्वयुद्धको अन्त्य भयो । दोस्रो विश्वयुद्धले जापान र अमेरिकालाई नयाँ
शिक्षासमेत थियो । दुई देशबीच त्यसपछिका वर्षमा राम्रो सम्बन्ध स्थापित हुँदै आएको
भए पनि दुवै देशका शीर्ष नेताले एक अर्काले आक्रमण गरेको स्थानमा पुगेर त्यसलाई
सहजीकरण गर्न सकिरहेका थिएनन् । तर, यस वर्ष अमेरिकी
राष्ट्रपति बाराक ओबामाले हिरोसिमा भ्रमण गरी अमेरिकी परमाणु बम खसाल्दा
मारिएकाप्रति श्रद्धाञ्जली दिएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे पनि पर्ल हार्बरमा
पुगेर ७५ वर्षअघि जापानले गरेको आक्रमणमा मारिएका अमेरिकीप्रति श्रद्धाञ्जली
व्यक्त गरे । दोस्रो विश्वयुद्धको लामो समयपछि दुवै देशका नेताले एक अर्को देशको
पीडामा साथ दिएसँगै यसले कूटनीतिक क्षेत्रमा ठूलो महŒव
राख्नेछ ।
टर्कीको असफल सैनिक ‘कु’
गत
१५ जुलाईमा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान बिदामा भएको समयमा त्यहाँको
सेनाको एक टुकडीले विद्रोह गरी सत्ता आफ्नो हातमा लिएको घोषणा ग¥यो ।
टर्कीको राष्ट्रपति भवन, संसद् भवनलगायतमा बम विस्फोट
गराउँदै मध्यरातमा हेलिकोप्टर र सडकमा ट्यांकसहित निस्किए । त्यति मात्रै होइन,
त्यहाँको एक टेलिभिजनलाई कब्जामा लिएर सैनिक कमान्डरले सत्ता आफ्नो
हातमा लिएको र छिट्टै नै निर्वाचन गराएर नयाँ संविधान जारी गर्ने घोषणा गरेपछि
राजधानी अंकारा र इस्तानबुलमा जनताले ठूलो संख्यामा निस्किएर त्यसको प्रतिरोध गरे
। त्यस क्रममा सयौं सर्वसाधारणको मृत्यु भयो । सैनिककै वरिष्ठ अधिकारीहरूले नै यस ‘कु’ लाई साथ दिएनन् भने जनताहरू नै ‘कु’ का विरुद्धमा सडकमा ओर्लिएपछि ५ घण्टामा नै
टर्कीको सैनिक ‘कु’ असफल भयो । सैनिक ‘कु’ मा सामेल ३ हजारभन्दा बढी सैनिकलाई पक्राउ गरियो
भने वकिल, कर्मचारी र शैक्षिक क्षेत्रमा कार्यरत शिक्षक र
प्राध्यापकहरू गरी करिब ५० हजारले सरकारी सेवाबाट हात धुनु प¥यो । कुनै समय अटोमन साम्राज्यको केन्द्र क्षेत्रलाई कुनै समय सेनाका
अधिकारी रहेका मुस्तफा कमाल अतातुर्कले टर्कीका रूपमा स्थापना गर्दै भनेका थिए,
‘यो क्षेत्रमा बस्ने टर्कीस र धर्मनिरपेक्ष हुन् ।’ उनको सोही भनाइलाई आधार मानेर अहिले पनि टर्कीको सेनाले धर्मनिरपेक्षताको
पक्षमा वकालत गर्नु आफ्नो कर्तव्य ठान्दछ । सोहीअनुसार नै टर्कीमा धार्मिक कट्टर
नेताहरू सत्तामा आएको समयमा पटकपटक सैनिक ‘कु’ हुने गरेको छ । यसलाई पनि सोही अर्थमा हेरिएको छ । यसैगरी, टर्कीमा वकिल र शैक्षिक क्षेत्रको समेत ठूलो भूमिका रहेका कारण ‘कु’ पनि सबैभन्दा बढी निशाना यही क्षेत्रमा सोझिएको
हो ।
शान्ति–सम्झौतामा
हस्ताक्षरपछि हात मिलाउँदै कोलम्बियाका राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क
विद्रोहीका नेता तिमोलियोन जेमिनेज ।
उत्तर कोरियाको परमाणु
कार्यक्रम
सन्
२०१६ मा उत्तर कोरिया चर्चाको शिखरमा नै रह्यो । गत जनवरीमा भूउपग्रह परीक्षण
गरेको उत्तर कोरियाले त्यसपछि लगातार क्षेप्यास्त्र र दुईवटा परमाणु बम परीक्षण ग¥यो । उत्तर
कोरियाको परमाणु कार्यक्रमलाई लिएर राष्ट्रसंघ सुरक्षा परिषद् र अमेरिकाले कडा
विरोध मात्रै गरेनन्, उत्तर कोरियामाथि लाग्दै आएको
नाकाबन्दीलाई थप कडा पनि बनाए । तर, उसले आफ्नो परमाणु
कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भन्दै त्यसलाई निरन्तरता दियो । दक्षिण
कोरिया र अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रमको अनुगमन गर्न भन्दै संयन्त्र
नै स्थापना गरिसकेपछि पनि उसले एकपटक परमाणु र पटकपटक क्षेप्यास्त्र परीक्षण गरेको
छ ।
यस्तै, उत्तर
कोरियाली वर्कर्स पार्टीको सातौं महाधिवेशन झन्डै ३६ वर्षपछि गत मे ६ देखि ९
तारिखसम्म राजधानी प्योंगयांगमा सम्पन्न भयो । यसले पार्टीको सर्वोच्च नेता किम
जोंग उनलाई औपचारिक रूपमा निर्वाचित गर्नुका साथै स्थायी समिति र पोलिटब्युरोको
समेत निर्माण गरेको छ । हरेक चार वर्षमा गर्ने भनिएको महाधिवेशन सन् १९८० पछि
पहिलोपटक भएको हो । विश्वमा नै निकै गोप्य रहने उत्तर कोरियाको शासन व्यवस्था
सञ्चालन गरिरहेको वर्कर्स पार्टीको महाधिवेशन पनि यो वर्षको एक परिघटना थियो ।
फार्कसँगको शान्ति सम्झौता
विश्व
राजनीतिक इतिहासमा वर्ष २०१६ मा ५२ वर्ष लामो ल्याटिन अमेरिकी देश कोलम्बियाको
गृहयुद्ध अन्त्यको वर्ष रह्यो । कोलम्बियामा त्यहाँको सरकार र वामपन्थी फार्क विद्रोही
समूहबीच ऐतिहासिक युद्धविराम सम्झौतामा हस्ताक्षर भयो । पहिलोपटक भएको युद्धविराम
सम्झौता जनमत संग्रहबाट असफल भए पनि पुनः दोस्रोपटकको प्रयासमा सरकार र
विद्रोहीबीच युद्धविराम सम्झौता भएको हो । झिनो मतान्तरले शान्ति–सम्झौता
अस्वीकृत भयो । फार्क विद्रोहका क्रममा २ लाख ६० हजारभन्दा बढीको हत्या भएको
भन्दैै शान्ति–सम्झौताले युद्ध अपराधीलाई उन्मुक्ति दिने
भन्दै पूर्व राष्ट्रपतिले अस्वीकार गर्न आह्वान गर्दै अभियानको नेतृत्व गरेका थिए
। शान्ति–सम्झौताको विपक्षमा ५० दशमलव २४ प्रतिशत जनताले
मतदान गरेका थिए । वामपन्थी फार्क पार्टी ५२ वर्ष लामो सशस्त्र युद्धलाई त्यागेर
शान्तिपूर्ण राजनीतिमा आउन तयार भएपछि शान्ति–सम्झौता भएको
थियो । शान्ति–सम्झौताको विपक्षमा त्यहाँको वामपन्थी फार्क
पार्टीका केही नेताले समेत मत मागेका थिए । उनीहरूले जनतालाई बाँडेका सपना पूरा
नहुँदै आत्मसमर्पण गर्न नहुने भन्दै सम्झौताको विपक्षमा उभिएका थिए । दुई पक्षबीच
युद्ध विराम सम्झौतासँगै ल्याटिन अमेरिकाकै सबैभन्दा पुरानो फार्कको संघर्ष
टुंगियो । क्युबाको राजधानी हवानामा भएको शान्ति–सम्झौताको
सहमतिमा हस्ताक्षर कार्यक्रममा क्युबाका राष्ट्रपति राउल कास्ट्रो, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसमेतको सहभागिता रह्यो ।
सम्झौतामा कोलम्बियाका राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता
तिमोलियोन जेमिनेज तिमोचेन्कोले हस्ताक्षर गरेका थिए । दक्षिणी गोलार्धको सबैभन्दा
लामो गृहयुद्ध मानिएको कोलम्बियको फार्क विद्रोह र सरकारबीचको युद्धका क्रममा
झन्डै २ लाख ६० हजारको ज्यान गएको थियो भने लाखौं आन्तरिक शरणार्थीका रूपमा कष्टकर
जीवन बाँच्न बाध्य थिए । फार्क र सरकारबीच करिब चार वर्ष लामो गोप्य र अनौपचारिक
वार्तापछि औपचारिक रूपमा शान्ति–सम्झौतामा सहमति भएको हो ।
रोड्रिगोको उदय र चीनसँगको
सम्बन्ध
फिलिपिन्सले
यसै वर्षको जुनमा नयाँ राष्ट्रपतिका रूपमा लागूऔषधविरोधी अभियान चलाएका डाभाओका
मेयर रोड्रिगो डुटेर्तेलाई पायो । अमेरिकाका कट्टर आलोचकसमेत रहेका उनको
कार्यकालको सुरुवातसँगै अमेरिकासँगको सम्बन्ध चिसियो भने केही वर्षदेखि चिसो
सम्बन्ध रहेको चीनसँग पुनः सम्बन्ध अघि बढेको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै
उनले छिमेकी तथा शक्ति राष्ट्र चीनसँगको सम्बन्धका लागि लागे । लागू औषधको अवैध
कारोबारमा संलग्न भएको आरोपमा उनले ४ हजारभन्दा बढीको हत्या गरेको भन्दै अमेरिकाले
उनीमाथि मानव अधिकार उल्लंघन गरेको आरोप लगाइरहेको छ । यसअघि फिलिपिन्सले
चीनविरुद्ध दक्षिण चीन सागरमा आफ्नो स्वामित्वको दाबी गर्दै हालेको मुद्दामा
फिलिपिन्सकै पक्षमा फैसला भए पनि अहिले चीन र फिलिपिन्सबीचको सम्बन्ध सुध्रँदो
अवस्थामा छ । उनले केही समयअघि अमेरिकालाई गाली गर्दै एक चीन नीतिको पक्षमा आफू
दृढ रहेको समेत बताए । यसअघि दक्षिण चीन सागरको विषयलाई लिएर अमेरिकासँग नजिक हुन
पुगेको फिलिपिन्स एकाएक चीनको पक्षमा उभिन आइपुगेको छ ।
फिडेल क्यास्ट्रोको निधन
अमेरिकाको
नाकैमुनि समाजवादलाई टिकाउने क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलाई विश्वले यसै
वर्ष गुमायो । सन् १९५९ मा गुरिल्ला युद्धमार्फत क्युबाको सत्ता हातमा लिएका उनले
पाँच दशक लामो सत्तायात्राका क्रममा दर्जनौंपटक अमेरिकाले गरेको हत्याको असफल
प्रयासका बाबजुद क्युबालाई नेतृत्व प्रदान गर्न सफल भएका थिए । तर, उनको ९०
वर्षको उमेरमा गत २५ नोभेम्बरमा निधन भएको छ । उनको निधनसँगै विश्वले एक समाजवादी
आन्दोलनका अग्रज नेतालाई गुमाएको छ । विश्वमा पुँजीवादको सनसनी रहेका समयमा पनि
क्युबाको समाजवादी सत्तालाई टिकाउन उनले ठूलो प्रयत्न गरे भने तेस्रो विश्व र
असंलग्न आन्दोलनमा पनि उनले आफ्नो छाप छाड्न सफल भए । यसै वर्ष अमेरिकी राष्ट्रपति
बाराक ओबामाले क्युबा भ्रमण गरी सुध्रन गरेको आग्रहलाई उनले अस्वीकार गर्दै
आफूहरूको बाटोमा स्वतन्त्रतापूर्वक हिँड्न दिन चेतावनी दिएका थिए । उमेरले
वयोवृद्ध भए पनि उनमा पुँजीवादी विश्व र त्यसका नेताप्रतिको घृणाभाव उत्तिकै थियो
भन्ने यो घटनाले पुष्टि गर्दछ भने साना देशको स्वतन्त्रता र स्वाभिमान ठूला
देशभन्दा कम हुन्न भन्ने कुरा उनले सबैलाई सिकाएर बिदा भएका छन् । उनको निधको केही
समयअघि मात्रै क्युबा र अमेरिकाबीच पुनः कूटनीतिक सम्बन्ध अघि बढेको छ भने
अमेरिकामा क्युबाको दूतावाससमेत खोलिसकिएको छ । फिडेल क्यास्ट्रोको अगुवाइमा
क्युबामा भएको क्रान्तिसँगै सन् १९६१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध विच्छेद भएको
थियो । यी दुई देशले सम्बन्ध सुधारको प्रयास स्वरूप क्रममा ५० वर्षभन्दा लामो
समयपछि हवाई सेवा सुरु गरे । अमेरिकाका यातायातमन्त्री एन्थोनी फोक्स १ सय ५०
जना यात्रु बोकेर क्युबाको सान्टा क्लारास्थित विमानस्थलमा जेटब्ल्यु प्mलाइट ३८७ लिएर पुगे । तर, अब यी देशबीचको सम्बन्ध
कुन बाटोबाट अघि बढ्छ भन्ने कुरा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प
र क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोको हातमा छ ।
अन्त्यमा, वर्ष २०१६
विभिन्न परिघटनाका कारण चर्चित मात्रै बनेन, यसले २०१७ का
लागि केही परिघटनाहरूको सिर्जनासमेत गरेको छ । बेलायतको ब्रेक्जिटदेखि दक्षिण
कोरियाली राष्ट्रपतिको महाअभियोगसमेत २०१७ मा पुगेर निर्णायक मोडमा पुग्नेछन् ।
यस्तै, अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामले अमेरिका र
रुसबीचको सम्बन्ध तिक्ततापूर्ण बनाइदिएको छ भने चीनसँगको सम्बन्ध पनि चिसिएको छ ।
वर्षको अन्तिममा अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेपछि रुसले पनि
३५ जना अमेरिकी कूटनीतिज्ञलाई देश निकाला गरेको छ । विश्व शक्ति राष्ट्रबीच
चुलिएको संघर्षले कस्तो रूप लिन्छ भन्ने हेर्न २०१७ लाई कुर्नुपर्नेछ ।
No comments:
Post a Comment